
दार्जिलिङ: गायन प्रतिभाहरुको खोजी गर्ने मूल उद्देश्य राखेर शुरु गरिएको सिक्किम आइडल इन्टरनेशनल सिजन-३ को अडिशन दार्जीलिङमा आगामी ३ दिसम्बरको दिन हुने तय भएको छ। आज सिक्किम आइडल इन्टरनेशनल सिजन-३-को आयोजक समितिका कार्यकर्ताहरु यसैको जानकारी दिन दार्जीलिङ आएका थिए। जसअनुसार सिक्किमका मुख्यमन्त्री पीएस गोलेको विशेष दिशानिर्देश तथा प्रोत्साहनमा शुरु गरिएको यस अन्तर्राष्ट्रिय स्तरको गायन प्रतियोगिताको अनलाइन अडिशन हिजोदेखि नै शुरु भएको छ भने यो अनलाइन अडिशन आगामी २५ नोभेम्बरसम्म जारी रहने सिक्किम आइडल इन्टरनेशनल सिजन-३ का संरक्षक एवं सिक्किम सरकारका आर्ट, कल्चर तथा हेरिटेज बोर्डका अध्यक्ष संजय दिल्पाली रई, आइडलका चीफ प्रोग्राम ओपरेटिङ अफिसर डा. मनोज राई, क्रियटिभ डाइरेक्टर प्रणेश पाखरीन अनि इभेन्ट प्रभारी दिवस राईले जानकारी गराएका छन्। उनीहरुले दिएको जानकारी अनुसार यसपालि यो गायन प्रतियोगिताको शारीरिक अडिशन देहरादुन, काठमाडौं र बिर्तामोडमा आगामी ३० नोभेम्बरको दिन हुनेछ भने दार्जीलिङसँगै सिलगढ़ी, कालेबुङ र गुवाहटीमा ३ दिसम्बरको दिन हुनेछ। यसबाहेक ६, ७ र ८ दिसम्बरका दिन यसको अडिशन सिक्किमको राजधानी गान्तोकमा गरिने भएको पनि उनीहरूले जानकारी गराए। उनीहरुले हिजोबाट शुरु भएको अनलाइन अडिशनको घोषणासँगै प्रतियोगितामा सहभागी बन्न चाहने कैयौंले आयोजक समितिसित सम्पर्क गर्न थालेको पनि बताएका छन्। यस प्रतियोगितामा १५ वर्षदेखि माथि सबै उमेरका प्रतियोगीहरुले सहभागिता जनाउन सक्नेछन्, जसको प्रथम बन्ने सिक्किम आइडललाई १० लाख रुपियाँको नगद राशि प्रदान गरिनेछ। यसरी नै दोस्रोलाई ५ लाख अनि लेखी स्थानमा आउने प्रतियोगीलाई ३ लाख पुरस्करास्वरूप रुपियाँको नगद राशि प्रदान गरिने भएको छ। सिक्किम आइडल सिजन-१-मा जेत्सन डोना लामा प्रथम बनेकी थिइन् शाने दोश्रो सिजनको प्रतियोगितामा ओजस्वी गुरुड प्रथम बनेकी थिइन्। जसको गायन क्षेत्रमा सफलता कहाँ पुगेको थियो अनि छ, त्यो सबैलाई थाह भएकै विषय हो। यस प्रतियोगिताको बाण्ड फिनाले आगामी फरवरी २०२७-मा सम्पन्न गरिने भएको पनि आयोजक समितिले योजना बनाएको छ। उनीहरुले भने-दार्जीलिङ पहाड़, सिक्किम तथा वरिपरिका क्षेत्रहरुमा धेरै प्रतिभानी गायन कलाकारहरू छन्, जसले अहिलेसम्म पनि सही मञ्च पाउन सकेका छैनन्। यस्ता प्रतिभाहरुलाई उचित मञ्च दिने उद्देश्यले नै सिक्किमका मुख्यमन्त्री पीएस गोलेको प्रौलाइन तथा मुख्यमन्त्रीका राजनैतिक सल्लाहकार जेकब खालिडको योजनामा सिक्किम आइडल प्रतियोगिता शुरु गरिएको थियो। सिक्किमभित्रका कलाकारहरुका लागि उचित मञ्च दिने उद्द्देश्यले शुरु गरिएको यो प्रतियोगिता अहिले अन्तर्राष्ट्रिय स्तरमा पुग्न सफल बनेको छ। यसमा दार्जीलिङ पहाडसँगै अन्य क्षेत्रका कलाकारहरूले पनि आफ्नो भाग्य अज्माउन सक्नेछन्।

खरसाङ: खरसाङ नगरपालिकाको आयोजना साथै अप्पर डुमाराम बस्तीमा रहेको समाज ग्राम कल्याण समितिको सहयोगमा गाउँमा निःशुल्क आँखा जाँच शिविरको आयोजना गरिएको छ। समाजको पदाधिकारी साथै सदस्यहरूको विशेष उपस्थिति र संयोजनमा यो जाँच शिविर सफलतापूर्वक सम्पन्न भएको जानकारी प्राप्त भएको छ। सिलगढी लाईन्स नेत्रालयको आँखा जाँच गर्ने टोलीको चिकित्सा प्रणालीमा लगभग पैंतीसजना गाउँवासीले आँखा जाँच गराएका थिए। यसरी घर आँगनमा नै स्वास्थ्य जाँच गराउनको निम्ति शिविरको आयोजना गरिदिएकोमा खरसाङ नगरपालिकाको अधिकारीवर्ग, आँगनवाडी, स्वास्थ्य केन्द्रलाई समाजको तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ। यसको साथै समाजको पक्षबाट पनि आफ्नो सहभागिता दिएर यस महत कार्यमा सहयोग गर्ने समाजको सदस्यहरूलाई आभार प्रकट गरिएको छ। यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै समाजका सचिव बी. आर. शर्माले जानकारी गराएका छन्।

नयाँ दिल्ली: भारतीय शट्लर लक्ष्य सेनले हाइलो ओपन सुपर ५०० टुर्नामेण्टको फाइनलमा स्थान बनाएका छन्। शनिवार खेलिएको पुरुष एकलको सेमिफाइनलमा लक्ष्यले असाधारण प्रदर्शन गर्दै फ्रान्सका टोमा जूनियर पोपोवलाई सीधा गेममा २१-१७, २१-१३-ले पराजित गरे। २५ वर्षीय लक्ष्यले पूरा म्याचमा आक्रामक खेलको साथमा मजबूत डिफेन्सको असाधारण नमूना पेश गरे। उनले विश्वका १३औं नम्बरका खेलाड़ी पोपोवलाई अधिक मौका दिएनन् अनि दुवै गेममा आफ्नो वर्चस्व कायम राखे। पहिलो गेमको शुरुवातमा दुई खेलाड़ीबीच रोचक प्रतिस्पर्धा देख्न पाइयो अनि एक समय स्कोर ४-४-को बराबरीमा रहेको थियो। त्यसपछि भारतीय खेलाड़ीले ७-५-को बढ़त हासिल गरे, जसलाई उनले चाँड़ै १०-६ पुऱ्याए। ब्रेकसम्म लक्ष्यसँग ५ अंकको बढ़त रहेको थियो। ब्रेकपछि पोपोवले आफ्नो खेलमा सुधार गर्दै लगातार अंक टुलेर स्कोर ९-११ पुऱ्याए। लक्ष्यले पनि असाधारण डिफेन्स र सटीक स्म्याशको सहायताले १६-११-को बढ़त हासिल गरे। त्यसपछि पोपोवले केही अंक बटुल्दा लक्ष्यसँग १७-१५-को बढ़त थियो। त्यसपछि दुई खेलाड़ीबीच नेटमा असल खेल देख्न पाइयो। लक्ष्यले धैर्यको साथ खेल्दै शक्तिशाली शट्को साथ ४ गेम पोइण्ट हासिल गरे। पहिलो मौका गुमाएपछि उनले नेटमा असाधारण शट् लगाएर २१-१७-ले पहिलो गेम जिते। दोस्रो गेममा पनि लयलाई कायम राख्दै लक्ष्यले ४-१-को बढ़त हासिल गरे तर पोपोवले पनि चाँड़ै स्कोर ४-४ पुऱ्याए। त्यसपछि भारतीय खेलाड़ीले आक्रामक मिजास देखाउँदै लगातार स्म्याश लगाएर ७-४-को बढ़त हासिल गरे। यसरी ब्रेकसम्म भारतीय शट्लरसँग ४ अंकको बढ़त रहेको थियो। ब्रेकपछि लक्ष्यले लगातार दबाउ सृष्टि गर्दै स्कोर १४-७ पुऱ्याए। त्यसपछि भारतीय खेलाड़ीले पछि फर्किएर हेरेनन् अनि ९ म्याच पोइण्ट हासिल गरे। दुईवटा म्याच पोइण्ट गुमाएपछि लक्ष्यले सटीक स्म्याश लगाएर २१-१३-ले दोस्रो गेमसहित म्याच जितेर फाइनलमा स्थान बनाए। लक्ष्यको निम्ति यो साल उतार-चड़ाउले भरिएको रहेको छ। अल ईंग्ल्याण्ड च्याम्पियनशीपको फाइनलमा पुगेपछि उनी असल लय हासिल गर्न संघर्ष गरिरहेका छन्। यसैकारण हाइलो ओपनको प्रदर्शन उनको मनोबल बढ़ाउन फाइदाजनक साबित हुनेछ। अब फाइनलमा उनको भिड़न्त इण्डोनेशियाका चौथो वरीयता प्राप्त जोनाथन क्रिस्टी र डेनमार्कका शीर्ष वरीयता प्राप्त एण्डर्स एण्टोनसेनबीच खेलिने दोस्रो सेमिफाइनलको विजेतासँग हुनेछ।

लण्डन: म्यानचेष्टर सिटीले असल शुरुवातपछि ईंग्लिश प्रीमियर लीग फूटबल प्रतियोगितामा लगातार दोस्रो हारको सामना गर्नु पऱ्यो। यसरी म्यानचेष्टर युनाइटेडको पनि दुर्दशा जारी रह्यो। शनिवार राति खेलिएको म्याचमा म्यानचेष्टर सिटीले ब्राइटनविरुद्ध हारको सामना गर्नु पऱ्यो। एस्टन भिल्लाविरुद्ध गत म्याचमा २-१-को हारपछि ब्राइटनविरुद्ध पनि निराशाजनक नतीजाले म्यानचेष्टर सिटीको आत्मविश्वासलाई ठूलो आघात पुऱ्याउने तय छ। आफ्नो घरेलु मैदान ऐतिहाद स्टेडियममा ६१ प्रतिशत बल पोजेशनको साथ खेले पनि सिटीले गोल गर्न सकेन। यस अवधि टोलीले केही नजिकको मौकाहरू गुमायो। यसरी यासिन अयारिले ११औं मिनटमा दिलाएको एकमात्र गोलले ब्राइटनलाई यादगार जीत दिलायो। यस हारपछि पनि म्यानचेष्टर सिटी ९ वटा म्याचमा २१ अंकको साथ गोल अन्तरको आधारमा प्रीमियर लीग अंक तालिकाको शीर्षमा कायम रह्यो तर आर्सनलसँग आइतवार राति आफ्नो म्याच जितेर शीर्ष स्थान हासिल गर्ने मौका रहनेछ। यसरी तेस्रो स्थानमा रहने ब्राइटनसँग १९ अंक रहेको छ। यसरी चेल्सीले खराब लयमा रहने म्यानचेष्टर युनाइटेडलाई २-०-ले पराजित गऱ्यो। आफ्नो घरेलु मैदान स्टामफोर्ड ब्रीजमा ५९ प्रतिशत बल पोजेशनको साथ खेल्ने चेल्सीले म्याचको दुवै गोल दोस्रो हाफको खेलमा दर्ता गऱ्यो। विजेता टोलीबाट मोर्गन रोजर्सले ५०औं र कोल पाल्मरले ६४औं मिनटमा गोल गरे। म्याचको ६३औं मिनटमा म्यानचेष्टर युनाइटेडका डिफेण्डर लिसान्द्रो मार्टिनेजलाई रातो कार्ड देखाइयो। म्यानचेष्टर युनाइटेडले प्रीमियर लीगमा ७ वटा म्याच (सबै प्रतियोगिता मिलाएर ९ वटा)-देखि जीतको मुख देख्न सकेको छैन। चेल्सी १६ अंकको साथ चौथो स्थानमा रहेको छ। यसरी १७औं स्थानमा रहने म्यानचेष्टर युनाइटेडसँग केवल ७ अंक रहेको छ। युनाइटेडले प्रीमियर लीगको जारी सीजनमा एकमात्र जीत ३० अगस्तमा इप्सविच टाउनविरुद्ध ५-२-ले हासिल गरेको थियो। यसरी टोटनह्याम हट्स्पर (स्पर्स)-ले क्रिस्टल प्यालेसविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यो स्पर्सको प्रीमियर लीगमा लगातार तेस्रो जीत हो। आफ्नो घरेलु मैदानमा ७९ प्रतिशत बल पोजेशनको साथ खेल्ने स्पर्सबाट आर्ची ग्रे-ले २५औं र जन पल वान हिकीले ७३औं मिनटमा गोल गरे। म्याचमा प्यालेसका सेण्टर फरवर्ड जीन-फिलिपे माटेटालाई घातक फाउलको निम्ति १३औं मिनटमा रातो कार्ड देखाइयो। यस जीतको साथ स्पर्स १२ अंकको साथ गोल अन्तरको आधारमा आठौं स्थानमा रहन पुग्यो। प्रीमियर लीगको अन्य एउटा म्याचमा ब्रेण्टफोर्डले नटिंघम फरेष्टलाई २-०-ले पराजित गऱ्यो। यस जीतको साथ ब्रेण्टफोर्ड १४ अंकको साथ छैटौं स्थानमा रहन पुग्यो।

बार्सिलोना: स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा बार्सिलोनाले एल क्लासिको-को धक्काबाट मुक्ति पाउँदै एकतर्फी जीत हासिल गऱ्यो। यसरी एट्लेटिको म्याड्रिड पनि आफ्नो म्याच जित्न सफल भयो। वर्तमान च्याम्पियन बार्सिलोनाले शनिवार राति खेलिएको म्याचमा अलावेसलाई ६-१-ले पराजित गऱ्यो। घरेलु मैदान क्याम्प नोउमा ७७ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले मध्यान्तर अघि नै ४ गोल गरी अलावेसको हार सुनिश्चित गऱ्यो। पूरा म्याचमा बार्सिलोनाको वर्चस्व रह्यो अनि अलावेसको टोलीलाई डिफेन्स सम्हाल्नमै व्यस्त देखियो। बार्सिलोनाको तर्फबाट राफिन्हाले आठौं र ४१औं मिनटमा २ गोल गरे। यसरी लामिन यमालले मध्यान्तर अघि इञ्ज्युरी टाइमको पहिलो मिनट र ६४औं मिनटमा २ गोल गरे। रहल दुईवटा गोल फर्मिन लोपेज (२३औं मिनट) र एन्थोनी गोर्डन (८१औं मिनट)-ले गरे। अलावेसको तर्फबाट मारिएनो डिआजले ८४औं मिनटमा गोल गरे। यस एकतर्फी जीतको साथ बार्सिलोना ११ वटा म्याचमा ३० अंकको साथ ला लीगा अंक तालिकाको शीर्ष स्थानमा कायम रह्यो। यसरी एट्लेटिको म्याड्रिडले लेवान्तेविरुद्ध २-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ५५ प्रतिशत बल पोजेशनको साथ खेल्ने विजेता टोलीबाट अलाहान्द्रो ग्रिमाल्डोले ३६औं र गुइलियानो सिमिओनेले ६२औं मिनटमा गोल गरे। ला लीगामा लगातार सातौं जीतपछि एट्लेटिको म्याड्रिड २८ अंकको साथ दोस्रो स्थानमा रहेको छ। रियल बेटिसले मालागाविरुद्ध २-१-ले जीत हासिल गऱ्यो। यस जीतको साथ रियल बेटिस २३ अंक लिएर चौथो स्थानमा कायम रह्यो।

टोक्यो: पेन पेसेफिक ओपन २०२६-मा क्यानाडाकी स्टार टेनिस खेलाड़ी लेयला फर्नाण्डेजले असाधारण प्रदर्शन गर्दै फाइनलमा स्थान बनाइन्। उनले सेमिफाइनल म्याचमा उज्बेकिस्तानकी कामिला राखिमोवालाई सीधा सेटमा ७-५, ६-३-ले पराजित गरिन्। यसरी दोस्रो सेमिफाइनलमा रुसकी डायना श्नाइडरले स्लोवाकियाकी मिया पोहानकोवालाई पराजित गरी खिताबी भिड़न्तमा स्थान बनाइन्। सेमिफाइनलमा फर्नाण्डेजले राखिमोवाविरुद्ध कड़ा चुनौतीको सामना गर्नु पऱ्यो। म्याच १ घण्टा ५४ मिनटसम्म चल्यो। फर्नाण्डेजले दुवै सेटमा शुरुवाती समयमा ब्रेकको सामना गर्नु पऱ्यो तर उनले असाधारण पुनरागमन गर्दै म्याच जितिन्। यो फर्नाण्डेजको यस सालको तेस्रो डब्ल्यूटीए फाइनल हुनेछ। एशियाई चरणमा उनको प्रदर्शन असाधारण रहेको छ। उनले सेप्टेम्बरमा सिंगापुर ओपनको खिताब जितेकी थिइन्, जहाँ उनले फाइनलमा तालिया गिब्सनलाई पराजित गरेकी थिइन्। यसरी गत हप्ता निंगबो ओपनको फाइनलमा चाहिँ उनले एलेना रायबाकिनाविरुद्ध हारको सामना गर्नु परेकी थियो। दोस्रो सेमिफाइनलमा श्नाइडरले वाइल्ड कार्डद्वारा प्रवेश पाउने १८ वर्षीय मिया पोहानकोवालाई ६-४, ७-६ (७)-ले पराजित गरिन्। म्याच १ घण्टा ४६ मिनटसम्म चल्यो। श्नाइडरले पहिलो सेटमा शुरुवाती ब्रेकपछि लय हासिल गर्दै ६-४-ले जीत हासिल गरिन्। दोस्रो सेटमा उनले टाईब्रेकरको अवधि सेट पोइण्ट बचाउनु पऱ्यो। निर्णायक क्षणहरूमा धैर्यको साथ खेल्दै श्नाइडरले युवा प्रतिद्वन्द्वीको चुनौतीलाई पार गरिन्। यस जीतको साथ श्नाइडरले यस सीजनको आफ्नो पहिलो फाइनलमा स्थान बनाइन्।

केपटाउन: दक्षिण अफ्रिकाले तेस्रो क्रिकेट टेस्ट म्याचमा अष्ट्रेलियालाई १७६ रनले पराजित गरी ३ वटा टेस्ट म्याचको सीरीज २-१-ले जित्यो। डरबनमा खेलिएको पहिलो टेस्ट म्याचमा २१४ रनले निराशाजनक हारको सम्मुखीन हुने आयोजक दक्षिण अफ्रिकाले अन्तमा असाधारण पुनरागमन गर्दै रहल २ वटा टेस्ट म्याच जितेर सीरीज आफ्नो नाम गऱ्यो। दक्षिण अफ्रिकाले दोस्रो टेस्ट म्याच ईनिंग्स र ३१ रनले जितेको थियो। न्यूल्याण्ड्समा शनिवार तेस्रो टेस्ट म्याचको पाँचौं तथा अन्तिम दिन अष्ट्रेलियालाई जीतको निम्ति २८८ रन बनाउनु थियो जबकि दक्षिण अफ्रिकालाई जीतको निम्ति १० विकेट हासिल गर्नु थियो। दोस्रो ईनिंग्समा चरम निराशाजनक शुरुवातपछि अष्ट्रेलिया अन्तमा १११ रन बनाएर अलआउट भयो। दक्षिण अफ्रिकी स्पिनर साइमन हार्मरले विध्वंशी बलिंग गर्दै ६ विकेट हासिल गरे। यसरी अष्ट्रेलियाको शीर्ष क्रमलाई ध्वस्त पार्ने कगिसो रबाडाको खातामा ३ विकेट रह्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै दक्षिण अफ्रिकाले ३२९ रन बनाएको थियो। त्यसपछि अष्ट्रेलियाले जोश ईंग्लिश (१०२ रन)-को शतकको सहायताले ४२९ रन बनाएर पहिलो ईनिंग्सको आधारमा १०० रनको बढ़त हासिल गरेको थियो। चरम दबाउबीच लड़ाकू प्रदर्शन गर्दै दक्षिण अफ्रिकाले रियान रिकेल्टन (१०१) र वियान मुल्डर (११५ रन)-को शतकको सहायताले आफ्नो दोस्रो ईनिंग्समा ३८७ रन बनाएर अष्ट्रेलियालाई जीतको निम्ति अन्तिम दिन २८८ रन बनाउने लक्ष्य दिएको थियो। लक्ष्यलाई पीछा गर्दै अष्ट्रेलियाको शुरुवात खराब रह्यो अनि ४२ रनमै ६ विकेटको पतनपछि टोलीले शीर उठाउन सकेन। दशौं नम्बरमा ओर्लिएर न्याथन लायनले अविजित ३३ रन बनाएर टोलीको स्कोर १०० पारी पुऱ्याए। यसबाहेक क्यामरन ग्रीनले २७ र ट्रेविस हेडले १४ रनको योगदान दिए। म्याट रेनशा, कूपर कोनोली, मिचेल स्टार्क र जोश हेजलवुडले खाता नै खोलेनन्। यसरी मार्नस लेबुशेन र जोश ईंग्लिश ४-४ रन बनाएर आउट भए। एलेक्स केरीले केवल २ रन बनाए। म्याचमा १० विकेट लिने साइमन हार्मरले प्लेयर अफ द म्याचको पुरस्कार जिते। यसरी मार्को यानसनलाई प्लेयर अफ द सीरीज चयन गरियो।

केपटाउन: दक्षिण अफ्रिकाका स्टार पेस बलर कगिसो रबाडाले अन्तर्राष्ट्रिय क्रिकेटमा एउटा ठूलो उपलब्धि हासिल गरे। उनी ६०० अन्तर्राष्ट्रिय विकेट लिने दक्षिण अफ्रिकाका पाँचौं बलर बने। अष्ट्रेलियाविरुद्ध केपटाउनमा जारी तेस्रो टेस्ट म्याचको पाँचौं दिन उनले यस उपलब्धिलाई हासिल गरे। यसको साथै रबाडाले टेस्ट क्रिकेटमा आफ्नो ३५० विकेट पनि पूरा गरे। रबाडाले अहिलेसम्म २६० वटा अन्तर्राष्ट्रिय म्याचमा जम्मा ६०१ विकेट लिएका छन्। दक्षिण अफ्रिकाको तर्फबाट अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक ८२३ विकेट लिने रेकर्ड शन पोलकको नाममा रहेको छ। यसरी डेल स्टेन (६९७) दोस्रो, मखाया एनटिनी (६६१) तेस्रो र एलन डोनाल्ड (६०२) चौथो स्थानमा छन्। रबाडाले अष्ट्रेलियाको दोस्रो ईनिंग्समा ओपनर ट्रेविस हेडलाई १४ रनको निजी स्कोरमा आउट गरी टेस्ट क्रिकेटमा ३५० विकेटको आँकड़ालाई छोए। उनले यस उपलब्धिलाई ७५ वटा टेस्ट म्याचमा हासिल गरे। यस मामिलामा उनी वेष्ट इण्डिजका मेल्कम मार्शलसँग संयुक्त रूपले तेस्रो स्थानमा छन्। रिचर्ड हेडली र डेल स्टेनले ६९ वटा टेस्ट म्याचमा ३५० विकेट पूरा गरेका थिए। यसरी डेनिस लिलीले ७० र ग्लेन म्याकग्राले ७४ वटा टेस्ट म्याचमा यस उपलब्धिलाई हासिल गरेका थिए। रबाडा बलको हिसाबले चाहिँ टेस्ट क्रिकेटमा सबैभन्दा तेज ३५० विकेट लिने बलर बनेका छन्। उनले केवल १३,८०८ बलमा यस उपलब्धिलाई हासिल गरे। यस सूचीमा डेल स्टेन १४,७१९ बलको साथ दोस्रो र वकार यूनिस १४,९०५ बलको साथ तेस्रो स्थानमा छन्। तेस्रो टेस्ट म्याचमा अष्ट्रेलिया हारको संघारमा पुगेको छ। म्याचको पाँचौं दिन जीतको निम्ति २८८ रनको लक्ष्यलाई अघि राखेर खेल्दै अष्ट्रेलियाले अन्तिम समाचार प्राप्त हुँदासम्म आफ्नो दोस्रो ईनिंग्समा केवल ६२ रन बनाएर ७ विकेट गुमाएको छ।

मुम्बई: न्यूजील्याण्डविरुद्ध आउँदो वनडे सीरीज अघि भारतीय क्रिकेट टोलीमा बद्लाउ गरिएको छ। चयन समितिले पेस बलर आकिब नबीलाई पहिलो ३ वटा वनडे म्याचको निम्ति पनि टोलीमा सामेल गरेको छ। यसअघि उनलाई सीरीजको चौथो र पाँचौ वनडे म्याचको निम्ति चयन गरिएको थियो। अब उनी सीरीजको शुरुवातदेखि नै टोलीको हिस्सा हुनेछन्। आकिबलाई प्रसिद्ध कृष्णाको स्थानमा भारतीय टोलीमा सामेल गरिएको छ। प्रसिद्धको चोट अहिलेसम्म निको भएको छैन अनि उनको टोलीमा सामेल हुने फिटनेस टेस्टमाथि आधारित थियो। अहिले उनी समयमा फिट हुन नसक्ने पुष्टि भएपछि आकिब नबीलाई टोलीमा सामेल गरिएको छ। भारतीय क्रिकेट कण्ट्रोल बोर्ड (बीसीसीआई)-ले आधिकारिक बयान जारी गरी यस फेरबदलको जानकारी दिएको छ। जम्मू-कश्मीरका पेस बलर आकिब अब पूरा वनडे सीरीजमा टोलीको हिस्सा हुनेछन्। सीरीजको अन्तिम २ वटा म्याचको निम्ति पनि भारतीय टोलीमा बद्लाउ गरिएको छ। यी म्याचहरूमा टोलीको कप्तानी श्रेयस अय्यरले गर्नेछन् जबकि ईशान किशन उपकप्तान हुनेछन्। तिलक वर्मा, कुमार कुशाग्र र यश ठाकुरलाई पनि टोलीमा सामेल गरिएको छ। भारत र न्यूजील्याण्डबीच वनडे सीरीजको पहिलो म्याच ४ नोभेम्बरमा अकल्याण्डको ईडन पार्कमा खेलिनेछ। यसरी दोस्रो म्याच ७ र तेस्रो म्याच १० नोभेम्बरमा हुनेछ। सीरीजको अन्तिम २ वटा म्याच १३ र १५ नोभेम्बरमा हुनेछ।पहलो ३ वटा वनडे म्याचको निम्ति भारतीय टोली: शुभमन गिल (कप्तान), रोहित शर्मा, विराट कोहली, श्रेयस अय्यर (उपकप्तान), केएल राहुल (विकेटकीपर), अक्षर पटेल, नमन धीर, अंशुल कम्बोज, गुरनूर बराड़, रितुराज गायकवाड़, अर्शदीप सिंह, ईशान किशन (विकेटकीपर), मोहम्मद सिराज, कुलदीप यादव, नीतीश कुमार रेड्डी (केवल पहलो वनडे), आकिब नबी।
Kolkata:
34/3 Satyen Park, 1st Lane, Maa Sarada Apartment, Flat C-1, 2nd Floor, Thakurpukur, 700104
Ph: +91 7439487884 / +91 9038262985
Siliguri:
Hill Cart Road.
Near Hotel Shardangali, 734001
Ph: +91 9641423055/ +91 9903985974
Email – therepublicindiannews@gmail.com
Website – http://www.therepublicindian.com
Copyright © All rights reserved 2026. The Republic Indian Infotainment.